

काठमाडौं । पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गर्नु भएको छ ।
प्रचण्डले भन्नु भयो, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’
नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताउनु भएको थियो । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिनु भयो ।
केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने कार्यतालिका छ ।
केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ ।

खबर बजार । २१ श्रावण २०८०, आईतवार १३:०२