मैले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको हो: डा. सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताउनु भएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा बोलेको विषयमा स्पष्टीकरण दिनु भएको हो ।

संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोल्नु भएका  अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिनु भएको थियो । शर्माले भने आफूले नीतिगत प्रश्न मात्र गरेको बताउनु भयो ।

‘भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त ?’ अर्थमन्त्री डा. महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको भन्दै सांसद शर्माले भन्नु भयो, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ।’

उहाँले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको समेत बताउनु भयो । उहाँले अघि भन्नु भयो, मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन । मैले गृहमन्त्रीले तस्करी गर्नुभयो भनेको हो र ? मैले त नैतिक रुपमा जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न हो ।’

आफ्नो प्रश्नको उत्तर अर्थ र गृहमन्त्रीका साथै प्रधानमन्त्रीले पनि दिनुपर्ने उहाँले बताउनु भयो । सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गर्नु भयो ।