हुम्लामा जहाजको टिकट पनि पाउँदैनन् सर्वसाधारण

हुम्ला । राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लाका नागरिक काम विशेषले शहर जानुपर्दा निकै समस्या भोग्ने गरेका छन् ।


हवाइ मार्गबाट मात्र यात्रा गर्नुपर्ने बाध्यतामा रहेका उनीहरुले सदरमुकाम सिमकोटबाट सुर्खेत, नेपालगञ्ज वा काठमाडौं जान सहजै जहाज पाउँदैनन् ।

हरेक दिनजसो जहाजको टिकट लिन सदरमुकाम सिमकोटस्थित विमानस्थल पुग्ने धेरै सर्वसाधारण खाली हात घर फर्किनुपरेको छ ।

निजी क्षेत्रको सीता र समिट एयरलाइन्स तथा सरकारी नेपाल वायु सेवा निगमको जहाजले दैनिक उडान नभर्दा विद्यार्थी, कर्मचारी, बिरामीलाई शहर जान सकस भएको सिमकोट गाउँपालिका–६ बसन्त रावतले जानकारी दिनुभयो ।

परीक्षा दिन शहर जानुपर्ने विद्यार्थीले पनि जहाजको टिकट पाउन नसकेको रावतले बताउनुभयो । नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका जीवनबहादुर शाहीले दुखेसो गर्नुभएको छ ।

निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन् । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ ।