कांग्रेस संसदीय दलको निष्कर्ष सीआईबी बाटै हुनुपर्छ

काठमाण्डौ । नेपाली कांग्रेसले सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आज सोमवार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल नेपाली कांग्रेसकै केही नेताले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरिरहेको बेला कांग्रेसले आधिकारिक रूपमै छानबिन समिति गठन आवश्यक नभएको र सीआईबीले नै अनुसन्धान गर्ने जनाएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले तस्करी र भ्रष्टाचारजस्ता विषयको अन्त्य हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘सुन तस्करी प्रकरणमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ’, लेखकले भन्नुभयो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सीआईबीलाई नपत्याएर अर्को समिति गठन गर्ने हो भने कसई विश्वास गर्ने भनेर प्रश्न सोध्नुभएको थियो । थापाले भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने र जोसुकै व्यक्तिको नाम जोडिए पनि अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।