एमाले कर्णाली अधिवेशन: राजबहादुर शाही र प्रेमबहादुर सिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका राजबहादुर शाहीले र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताउनु भएको छ । ‘‘केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’, उहाले विज्ञप्तिमा भन्नु भएको छ ।

उहाँले पहिलो पटक भएको प्रदेशको अधिवेशनबाट अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको पनि बताउनु भएको छ । शाहीले पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी परेको थियो । अन्तिममा आएर दुई जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिनु भयो । अब अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।