चाँडै पदाधिकारी टुङ्ग्याउन माओवादीभित्र दबाव

केन्द्रीय समिति बैठक माघ २७ गते

काठमाडौं । पदाधिकारीविहिन केन्द्रीय समिति चयन गरेको नेकपा (माओवादी केन्द्र) भित्र चाँडै पदाधिकारी टुङ्ग्याउन दबाव बढेको छ ।

विधि र पद्धतिका कुरा गर्ने माओवादी केन्द्रले अध्यक्षमा मात्रै पुष्पकमल दाहाल (प्रचण्ड) लाई चयन गरी पदाधिकारीविहिन केन्द्रीय समिति चयन गरेको भन्दै पार्टी भित्र र बाहिरबाट आलोचना भइरहेको हो ।

उसो त माओवादी केन्द्रका अधिकांश जनवर्गीय संगठनका महाधिवेशनसमेत प्रचण्डले संयोजक/अध्यक्ष मात्रै तोक्ने तर पदाधिकारी चयन नगरी सम्पन्न भएका छन् ।

मुख्यतः महासचिवका दावेदार बर्षमान पुन (अनन्त) उपचारका लागि चीनमा रहेका कारण माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको थिएन ।

हाल माओवादी केन्द्रले आन्तरिक दबाव र सार्वजनिक आलोचना चिर्नकै लागि भए पनि महाधिवेशन सम्पन्न गरेको झन्डै दुई महिना पछि पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

त्यसको लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको नेताहरूले बताएका छन् ।

आगामी केन्द्रीय समिति बैठकअघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेशनले २ सय ९९ मध्ये अध्यक्षमा प्रचण्डससहित २ सय ३६ केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी चयन भएका छैनन् ।

माओवादीले गत महाधिवेशनवाट पारित गरेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्यीय पदाधिकारी बनाउने छ ।

यसैगरी, बैठकले स्थायी समिति, पोलिटब्यूरो र बाँकी रहेका खाली कोटामा केन्द्रीय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रीय समितिवाट नै बाँकी पदपूर्ति र समितिलाई पूर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।