सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमानको नाम सिफारिस भएको छ । रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उहाँहरुको नियुक्ति हुनेछ । सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो । अहिले सर्वोच्च अदालतमा २१ मध्ये १४ जना न्यायाधीश छन् ।