विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आज हुने भएको छ ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । गठबन्धनले निर्णय गरेपछि राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले अम्बर विष्टलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको हो ।
सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना छ । नेकपा एमालेले पनि राप्रपालाई सघाउने निर्णय गरेको छ ।
खबर बजार । २४ पुष २०८०, मंगलवार ११:४५