

सुर्खेत । कर्णाली प्रदेशका स्थानीयतहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले आफ्नो व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवाको विज्ञापन गर्न प्रदेश सरकारसमक्ष माग गरेका छन् ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
‘संघीयता कार्यन्वयनको अबस्था देखि स्थानीय तह सम्म लामो समयमा कर्मचारीको अभाव भएको छ र उक्त समयमा कर्णाली प्रदेशका विभिन्न कार्यालयहरूमा सफलता पूर्वक काम गरेका छन् ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालमा संघीयता निजामति सेवा ऐन आइनसकेको र स्थानीय सेवा आयोग पनि नबनिसकेको अवस्थामा हामी विगत लामो समयदेखि कर्णाली प्रदेशका विभिन्न कार्यालय र स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीको सेवा सुनिश्चिता तथा स्थायित्वको अनुरोध गर्दछौं।’
अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक संघ कर्णाली प्रदेशका सचिव प्रकाशकुमार विसीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ मा प्रतिस्पर्धा सम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्नुका साथै अस्थायी तथा करार कर्मचारीहरूको व्यवस्थापन गरेर मात्रै प्रदेश लोकसेवा विज्ञापन गर्नुपर्ने माग राखिएको बताउनुभयो ।
जवाफमा मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुनमा व्यवस्था भएअनुरुप नै अघि बढ्ने बताउनुभएको छ।
कर्णाली प्रदेशमा लोक सेवा आयोगले स्थानीय तहहरूको लागि स्थायी पदपूर्ति गर्न माग फारम भर्न लगाई रिक्त विवरण संकलन गरिरहेको र पुस २७ गते स्थानीय तहका (सहायक पाचौँ) र माघको अन्तिम मंगलबार चौथो तहका विभिन्न पदहरूमा विज्ञापन गर्ने तयारी गरेको छ ।

खबर बजार । ११ पुष २०७८, आईतवार १५:४०