सुर्खेत । दक्षिण एशियाको सबैभन्दा पुरानो संगठन ‘नेपाली सेना’ले आज महाशिवरात्रिको अवसरमा सेना दिवस मनाउँदै छ ।
नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।
सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।
वि.सं. २०४७ सालदेखि महाशिवरात्रिको दिन हरेक वर्ष नेपाली सेनाले सेना दिवस मनाउँदै आएको छ ।
इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै नेपाली सेनालाई धर्म र संस्कारमा सामाजिकीकरण गराइएको छ । यति मात्र होईन नेपाली सेनाको लोगोमा रहेको हरियो षड्कोणभित्रको डमरु र त्रिशूलको समायोजनको समेत धार्मिक र दार्शनिक अर्थ छ ।
दिवसको अवसरमा सेनाले विभिन्न सैन्य कौशल प्रदर्शनका कार्यक्रमहरू गर्ने गरेको छ । समारोहमा राइफल तथा तोपबाट बढाई कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेट लगायत विभिन्न युनिटहरुबाट मार्च पास, बख्तरबन्द गाडी र विभिन्न हतियार तथा इक्विपमेन्टहरुको प्रदर्शनी हुने गरेको छ ।
सेनाका अनुसार आकर्षक सैनिक कला प्रदर्शनी, राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण, विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धि विविध गतिविधीहरु झल्कने झाँकीहरु प्रस्तुत हुन्छन् ।
नेपाली सेनाले देशभर रहेका सम्पूर्ण सैनिक युनिटहरुमा सेना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना हुने जनाएको छ ।
खबर बजार । १७ फाल्गुन २०७८, मंगलवार ०५:४१