हमाल मृत्यु प्रकरणः आफन्तको प्रदर्शन, संयमित हुन प्रशासनको अपिल

सुर्खेत । प्रहरीको कुटाइबाट मृत्यु भएका भनिएका कालीकोटका एक युवकका आफन्तले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

तिलागुफा नगरपालिका-३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर हमालका आफन्तले प्रदर्शन गरेका हुन् ।

सडकमा रहेका मृतकका आफन्त र सुरक्षाकर्मीहरु । तस्बिरः जगत सापकोटा

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटेको र हमालको मृत्यु भएको आफन्तले दावी गरेका छन् । परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको दाबी छ । वीरेन्द्रनगर बजारका ठाउँ ठाउँमा प्रहरी तैनाथ गरिएको छ ।

सडकमा रहेका मृतकका आफन्त र सुरक्षाकर्मी । तस्बिरः जगत सापकोटा

हमालको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिसकेको छ ।

समितिले प्रतिवेदन पेश गर्ने भएकाले छानविन कार्यमा सहयोग गरिदिन प्रशासनले आफन्तहरुलाई आग्रह गरेको छ । साथै, प्रशासनले शान्ति सुरक्षामा खलल पुग्ने खालका गतिविधि नगर्न समेत अपिल गरेको छ ।