सुर्खेत । कर्णाली प्रदेशमा सवारीसाधन दुर्घटनामा परी आठ महिनाभित्र एक सय ३३ जनाको मृत्यु भएको छ । साँघुरो सडक र सवारी चालकको लापरवाहीले दुर्घटना बढेको हो ।
एक लेनको साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी गाडी चलाउने लगायतका कारण कर्णालीमा सवारी दुर्घटना बढ्न थालेको ट्राफिक प्रहरीको भनाई छ ।
आर्थिक वर्ष २०७८/०७९ को श्रावण देखि हाल सम्म कर्णाली प्रदेशमा करिब २ सय ६६ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परी १ सय ३३ जनाको मृत्य भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कमा छ ।
यो वर्ष मात्रै दुर्घटनामा परी ९ पुरुष, ३४ महिला, ८ बालक, २ बालिका गरी १ सय ३३ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक कार्यालय प्रवक्ता डि.एसपी विरेन्द्र विकले खबर बजारलाई जानकारी दिनुभयो ।
उहाँकाअनुसार गत वर्ष २०७७/७८ मा पनि २ सय ९१ वटा सवारी दुर्घटना भएका थिए । जसमा ७५ पुरुष, १५ महिला, ७ बालक, १ बालिका गरी ९४ जनानले मृत्यु भएको थियो ।
प्रदेश ट्राफिक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल ३ सय ३९ वटा दुर्घटना भएका छन् । यस्तै जीप/कार ५२ वटा, ट्याक्टर ३९, अटो/टेम्पो २८, बस २७, ट्रक टेकंर २१, टिप्पर ५, माइक्रोबस ६ वटा, डोजर ३ वटा दुर्घटनामा परेका छन् ।
जसमा दुर्घटनामा परी २ सय ५४ जना सख्त घाइते र ३ सय ६९ जना साधारण घाइते भएका छन् । यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा पनि एक सय २९ मोटरसाइकल, ४१ ट्रक, ८ टिप्पर, डोजर ७, ३० बस, ४ माइक्रो बस, ५४ जिप/कार, ५५ ट्याक्टर, १४ अटो र ३ अन्य सवारी साधनहरु दुर्घटना भएका छन् ।
जसमा परी ९८ जनाको मृत्यु, एक सय ६९ जना गम्भीर घाइते भएका छन् भने ३ सय ६९ जना साधारण घाइते भएका प्रवक्ता विकले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशमा सबै भन्दा बढी सुर्खेतमा १ सय ३८, सल्यानमा ३७, रुकुमपश्चिममा १४, कालिकोट १३, जाजरकोट १८, दैलेखमा ३०, जुम्लामा १६, मुगुमा ६, डोल्पा २, हुम्ला ३ वटा सवारी दुर्घटना भएका छन् ।
कर्णाली प्रदेशमा सवारीसाधन दुर्घटनाका कारण धेरै मानवीय क्षति भइरहेकाले यसको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम फेरी लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।
टेकराज के. सी. । २७ फाल्गुन २०७८, शुक्रबार १४:२३