वीरेन्द्रनगर नगर पालिका – ९ मा अँझै खरको छाना

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सुर्खेतका झन्डै एकसय घरपरिवार अझैपनि खरको छानामुनी बस्न बाध्य भएका छन । सरकारले खरको छाना हटाएर जस्तापात लगाउने अभियान थालेपनि वीरेन्द्रनगर भित्रकै नागरिकहरु खरको छानोमा बस्न बाध्य भएका हुन् ।


आर्थिक अवस्था कमजोर, रोजगारी नभएका र कुनै सरकारी सेवा सुविधा नलिने परिवारका लागि निःशुल्क जस्तापाता वितरण गर्ने सरकारको निती रहेपनी वडा नम्बर ९ का नागरिकले भने त्यो सेवाबाट बञ्चित भएका छन ।

यसअघि वडाका १ सय ९ घरधुरीलाई जस्तापात लगाउने भन्दै तथ्याङ संकलन गरेको थियो । तर, यी मध्य १५ घरले मात्र जस्तापात लगाउन पाएको वडा नम्बर ९ को कार्यालयले जनाएको छ । यसअघि नगरपालिकाले वडा विभिन्न टोलमा पुगेर खरका छाना भएकाहरुको तथ्याङक संकलन गरेको थियो ।

कार्यालयले सत्यकाडाँ, अलायचौर, बुलबुले, चाँदनीचोक लगायतका क्षेत्रमा विवरण संकलन गरेको स्थानियको भनाइ छ । सबैले जस्तापात पाउने भनेर शुरुमा भनिएको भएपनि अहिले आफुहरुले पाउन नसकेको स्थानियको भनाइ छ । उनीहरुले स्थानिय जनप्रतिनिधिहरुले खरको छाना हटाएर जस्तापात लगाउने भनेर सपना देखाएपनि काम भने हुन नसकेको बताएका छन् ।