सेनाको हेलिकोप्टरसहितको टोली पाँच ठाउँमा ‘स्ट्यान्डबाई

३० मिनेटभित्र घटनास्थल पुग्ने

काठमाडौं । नेपाली सेनाले चुनावको सुरक्षाका लागि पाँच ठाउँमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राखेको छ ।


१० दिनअघिबाटै उपत्यकाबाहिर तीन ठाउँमा हेलिकोप्टरसहितको टोली स्याट्यान्डबाई राखेको नेपाली सेनाले उपत्यकासहित बिहीबारदेखि थप एक ठाउँ बर्दिबासमा समेत राखेको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावी सुरक्षा खतरालाई मध्यनजर गर्दै सेनाले पश्चिम कमान्डको सुर्खेत, मध्य कमान्डको पोखरा र पूर्वी कमान्डको इटहरीमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राखेको थियो ।

यसरी राखिएको टोली कुनै अप्रिय घटना भएको ३० मिनेटभित्र घटनास्थल पुग्ने प्रवक्ता सिलवालको भनाइ छ । सरकारले एकीकृत सुरक्षा योजनासहित सेनालाई समेत चुनावमा परिचालन गरेको हो । चैत मसान्तदेखि नै सेना चुनावी सुरक्षाका लागि खटिएको थियो ।
सेनालाई मतदानस्थलको तेस्रो घेराको जिम्मा दिइएको छ । त्योबाहेक सेनाले मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा जिम्मा पाएको छ ।

हेलिकोप्टरबाहेक सेनाले अस्थायी शिविर पनि स्थापना गरिरहेको छ । जिल्लामा रहेका गण÷गुल्मबाट समेट्न नसकिने स्थानमा अस्थायी क्याम्प राखेको हो ।
उनीहरूसँग बम डिस्पोज टोलीसमेत छन् ।