नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको छ।


राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा वार्षिक २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाए। यो सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।

विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। तीमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ।

सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असर न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको छ।

हरेक वर्ष आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ। ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ रहेको छ’ भन्ने नाराका साथ मनाइने गरिएको छ।

सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई सबै वातावरणमा नै असर गर्ने भएकाले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय रहेको विज्ञप्तिमा उल्लेख छ। सुर्तीजन्य पदार्थले प्रत्यक्षरूपमा मानिसको स्वास्थ्यमा असर गर्नुका साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको जनाइएको छ।