‘हाम्रो लागि छुट्याइने बजेट खर्च होइन, यो त लगानी हो’

गुराँस । ‘बालबालिकाको क्षेत्रमा भएको बजेटलाई खर्चको रुपमा नबुझौँ । किनकी यो भोलीको सुन्दर भविष्यको लागि गरिएको लगानी हो ।’ यो भनाई हो, मालिका माध्यमिक विद्यालय गुराँस गाउँपालिका ८ मा अध्ययनरत छात्रा लक्ष्मि ओलीको ।

लक्ष्मिजस्तै गुराँस ८ का बालबालिकाले आफ्नै साथिहरुमाझ बालमैत्री समाज, परिवारको जिम्मेवारी र सरकारको उत्तदायित्वको सन्दर्भमा विचार आदान-प्रदान गरेका छन् ।

गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजीकरणमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बालबालिकाहरुले आफ्ना विचार स्पष्ट रुपमा प्रस्तुत गरे ।

बाल दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा यसपालीको नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने विषयमा केन्द्रीत भएर विद्यार्थीहरुले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

धेरै बालबालिका अझै पनि विभिन्न किसिमका श्रममा लाग्न बाध्य रहेकाले शिक्षा तथा आधारभूत आवश्यकताको सवालमा परिवार नै सबैभन्दा पहिला जिम्मेवार हुनुपर्ने भन्दै अर्का प्रतिस्पर्धी तिलक ओलीले सबै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

वडामा सञ्चालित २ वटा माध्यमिक विद्यालयबाट १ छात्र र १ छात्राको दरले ४ जना विद्यार्थी सहभागि भएकोमा मालिका माध्यमिक विद्यालयका तिलक ओली प्रथम, कालिका माध्यमिक विद्यालयका दुर्गा कठायत र मालिकाका लक्ष्मि ओली द्वितीय तथा कालिकाका कुबेर खड्काले तृतीय स्थान हाँसिल गरेका छन् ।

वडा अध्यक्ष अध्यक्ष दीपेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा वक्तृत्वकलाको साथै आधारभूत तहको चित्रकला प्रतियोगितासमेत भएको सोसेकका प्रतिनिधि कमला मल्लले जानकारी दिनुभयो ।

तीनवटा विद्यालयबाट प्रतिस्पर्धा गरेको चित्रकलामा कालिका माध्यमिक विद्यालयका प्रिया कठायत प्रथम, कालिकाकै विवेक खत्री द्वितीय तथा मालिका माध्यमिक विद्यालयका विपना ओली तृतीय स्थान हाँसिल गर्न सफल हुनुभएको छ ।

वक्तृत्वकलातर्फ प्रथम हुनेलाई तीन हजार, द्वितिय हुनेलाई दुई हजार र तृतियलाई एक हजार तथा सहभागी सबै विद्यार्थीलाई पाँच सयको दरले पुरस्कार दिइएको वडा सचिव सुस्मिताकुमारी खड्काले बताउनुभयो । खड्काकाअनुसार चित्रकलामा प्रथम हुनेलाई दुई हजार, द्वितियलाई एक हजार, तृतियलाई आठ सय तथा सहभागी सबै विद्यार्थीलाई पाँच सयको दरले पुरस्कार दिइएको छ ।