‘सेतो कर्णाली’ (हेर्नुहोस्, फोटोहरू)

जनजीवन कष्टकर

सुर्खेत । पश्चिमी वायुको प्रभाव थप बढेसँगै कर्णाली प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ ।

कर्णाली प्रदेशका हिमाली त यसअघि नै हिउँ परेकोमा पछिल्लो मौसमी परिवर्तनले अन्य उच्च पहाडी जिल्लामा समेत हिउँ थपिदिएको हो ।

‘सेतो गुराँसे ।’ फोटो: श्यामसुन्दर खड्का
‘सेतो गुराँसे ।’ फोटो: श्यामसुन्दर खड्का

पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका १० वटै जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात भएको छ ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट र रूकुम (पश्चिम) का उच्च पहाडी क्षेत्रहरू सेताम्मे देखिएका छन् ।

जुम्ला सदरमुकाम खलङ्गामा हिउँ । फोटो: शिखर चपाईँ
हुम्ला सेताम्मे । फोटो: सुरेश परियार

हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र गरि सबै जिल्लामा हिउँ परेको हो ।

उपल्लो डोल्पा र मध्य डोल्पा, सुर्खेत चिङ्गाडको बुरूसेलगायत उच्च डाँडाहरू, दैलेखको गुराँस गाउँपालिकाका उच्च क्षेत्र, जाजरकोटको बारेकोट र शिवालयको माथिल्लो भाग, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परेको छ ।

डोल्पा हेर्दा । फोटो: लेख बुढा
हिउँमै यात्रा गर्दै मुगेली । फोटो: डबल रोकाया (मुगु)

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि धेरै जिल्लाको चहलपहल ठप्प भएको छ भने कतिपय ठाउँमा हिउँ हेर्न र रमाइलो गर्न घुम्नेहरूको घुँइचो देखिएको प्रहरी कार्यालयले जनाएका छन् ।

घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहारामै समस्या भएको कृषकहरूको भनाई छ ।