ज्येष्ठ नागरिक हेरचाहमा सरकार, बाँचिम् र पो भेट भो…(भिडिओ)

सुर्खेत । सिम्ता गाउँपालिका वडानम्बर ८ की बाटुकला आमा । जसले पहिला आफ्नो घरपरिवारका मान्छेलाई समेत चिन्न गाह्रो हुन्थ्यो । कति पटक त आमाले आफ्नै ज्वाईँलाई चिन्न सक्नुभएन ।


आँखाको ज्योति कमजोर भएपछि आमालाई बाँच्ने मन नै थिएन । तर हिजोआज उहाँ निकै प्रफुल्ल हुनुहुन्छ । किनभने मोतिविन्दु अपरेशनपछि उहाँ प्रष्ट देख्ने हुनुभएको छ । अब बाटुकला आमालाई बाँच्ने रहर पलाएकोमात्र होइन, नयाँ जन्म पाएझैँ अनुभूति भइरहेको छ ।
अचेल–अचेल आफन्त भेट हुँदा ‘बाँच्न पाएर पो भेट भयो’ भन्ने भावका गीत सुनाउनुहुन्छ बाटुकला आमा ।

पहिला आँखा नदेख्दा घरको एउटा कुनामा दिन गन्दै बन्ने बाटुकला आमा हिजोआज भने करेसाबारी देखि घरको काम सघाउनेसम्म गर्नुहुन्छ । त्यतिमात्र कहाँ हो र ! पाहुनापाछीलाई स्वागत सत्कार, घर परिवारलाई अहराई सिकाईसमेत गर्नुहुन्छ उहाँ । सिम्ता घुमाईको क्रममा पानी खाँदै एकैछिन बिश्राम गर्ने मौका उहाँकै घरमा मिल्यो । आफन्तीसँग गफिँदै बस्नुभएका आमाले दिएको पानी खाइसकेपछि उहाँले नै लगाएको गुन्द्रीमा बसेर सुखानी–दुःखानी भयो ।

सिम्ता गाउँपालिकाको ३ वटा लक्ष्यमध्ये एउटा लक्ष्य हो ‘जनतासंग सिम्ता गाँउपालिका’ । जसअन्तर्गत ज्येष्ट नागरिकहरुको स्वास्थ उपचार पनि एक हो । सिम्तामा भइरहेको तिव्र विकास देख्दा आमालाई सपना जस्तो लाग्छ । ‘अहिले जन्मन पाएको भए हुन्थ्यो’ भन्ने समेत उहाँलाई लाग्यो ।

बाटुकला आमा मात्र होइन, सिम्ता गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट धेरै नागरिकले नयाँ जीवन पाएका छन् ।
गाउँपालिकाको कार्यालयबाट ज्येष्ट नागरिकको स्वास्थ्यको हेरचाह, जाँच र उपचारजस्ता कार्य भएपछि गाउँपालिका साँच्चिकै अभिभावक हो भन्ने महसुस हुन थालेको छ ।

कति आर्थिक अवस्था कम्जोर भएका ज्येष्ट नागरिक त पारिवारीक माया तथा सेवाबाट पनि बन्चित भएका हुन्छन् । यस्तो अवस्थामा गाउँपालिकाले अपनत्व महसुस गराउँदै उहाँहरुको स्वास्थमा पनि विशेष ध्यान दिइरहेको रहेछ ।

भनिन्छ, ‘कुनै पनि देश वा समाजको स्तर थाह पाउन त्यहाँका ज्येष्ट नागरिकको अनुहार हेर’ । हो, सिम्ता गाउँपालिकाका ज्येष्ट नागरिकको अनुहारमा अहिले खुसी, उमङ्ग र उत्साह समेत देख्न सकिन्छ ।

हेर्नुहोस् भिडिओः