नरैनापुरमा नयाँ भवन सञ्चालनपछि सेवा प्रवाह प्रभावकारी बन्दै 

बाँके । नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएपछि बाँकेको नरैनापुर गाउँपालिकाका नागरिकले सहज र प्रभावकारी रुपमा सेवा प्राप्त गर्न पाएका छन् ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा यसअघि वडा कार्यालयबाट सेवा प्रवाह गर्नु परेको नरैनापुर गाउँपालिकाले गत माघ महिना देखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।

पहिला साघुँरो ठाउँमा व्यवस्थित हुन नसकेको गाउँपालिकाको कार्यालयभित्र एउटै कागजात भेटाउन समेत समय लाग्ने गरेकोमा हिजोआज त्यो समस्या हटेको स्थानीय नागरिकले बताएका छन् ।

भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सम्पूर्ण सेवा प्रदान गर्न पहिलाभन्दा धेरै सहज भएको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो ।

दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण कम्पनी महालक्ष्मी–जुगल बिल्डर्स जेभीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन । जेन-जी आन्दोलनको समयमा समेत निर्माणाधीन भवनमा क्षति पुगेको थियोे । तर, पछिल्लो पटक गाउँपालिकाको पहलमा तिव्र गतिमा काम भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।

उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष । फाइल तस्बिर ।

यसअघि साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदै आएको पालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।

निर्माण कार्य चल्दै गर्दा अनुगमनमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत । फाइल तस्बिर ।

लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी छ ।