हावाहुरीको कारण मधेशमा ३ जनाको मृत्यु

धनुषा । मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुई जनाको र सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको हो ।

हावाहुरीका कारण रुख ढलेको र ढलेको रुखले जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टेम्पोमा रहेका जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ की ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ ।

तीव्र हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर गम्भीर घाइते यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।