टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली विजयी

काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गतकाे दोस्रो खेलमा नेपाल विजयी भएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार राति भएकाे खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेकाे हाे ।


योसँगै नेपाल र यूएईबीचको दुई खेलको टी–२० शृङ्खला १–१ को बराबरीमा सकिएको छ । खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिनुभएको छ । उहाँले दुई खेलमा गरी ६ विकेट लिनुभएको हो ।
त्यस्तै, हेमन्त धामीले ४ ओभरमा २० रन दिएर २ विकेट लिनुभयो । १ सय २९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कुशल भुर्तेलले ५७ बलमा ८४ रन बनाउनुभयो । उहाँको यो अन्तर्राष्ट्रिय टी–२० मा १४औं अर्धशतक हो ।

यूएईका निलांश केशवानी र मुहम्मद अरफानले १र१ विकेट लिएका थिए । यसअघि नेपालले टस जितेर बलिङ गरेको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । पहिलो खेलमा नेपाल पराजित भएको हाे ।