
काठमाडौं । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने भएको छ ।

आजको सचिवालय बैठकका अनुसार असार दोस्रो साता बैठक बोलाउने तर मिति तय भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ ।
बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

२०७२ सालको भूकम्पबाट पार्टी कार्यालय भवन क्षतिग्रस्त भएपछि कार्यालय विभिन्न स्थानमा सर्दै आएको बताउँदै उहाँले मदननगरस्थित जग्गा भवन निर्माणका लागि उपयुक्त रहेको प्राविधिक प्रतिवेदनका आधारमा सोही स्थानमा भवन निर्माण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
त्यस्तै, कलंकीमा शिलान्यास गरिएको स्थानमा भवन नबनाउने निर्णय गर्दै उक्त प्रस्ताव फिर्ता लिइएको उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा पार्टीले भवन निर्माणका लागि सहयोग र सद्भाव देखाएको भन्दै मिनबहादुर गुरुङ दम्पत्तीप्रति बैठकले धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो ।
एमालेले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षात्मकका लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल संयोजक रहने गरी विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेका छन् । यस्तै अन्य सदस्यहरुमा ९ प्रदेशका इन्चार्ज रहने नेता भट्टले बताउनुभयो । समितिको समय १ महिनाका लागि तय भएको छ ।




खबर बजार । १० जेष्ठ २०८३, आईतवार २२:२५