कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरू

सुर्खेत । कर्णाली प्रदेशस्तरीय सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वीरेन्द्रनगरमा शुरू भएको छ ।

जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भई प्रदेशका सबै जिल्लाबाट खेलाडी सहभागी रहेको प्रतियोगिता मुख्यमन्त्री यामलाल कँडेलले एक समारोहबीच उद्घाटन गर्नुभएको हो ।

कँडेलले कर्णालीको खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभयो। मुख्यमन्त्री कँडेलले अब कर्णालीमै विभिन्न राष्ट्रिय स्तरका खेलहरू आयोजना गरेर यस क्षेत्रलाई खेलकुदकै माध्यमबाट विश्वमाझ चिनाउन आवश्यक प्रयत्न गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहको अध्यक्षता गर्नुभएका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले खेलका माध्यमबाट कर्णालीलाई चिनाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट खेलाडीहरूलाई बन्द प्रशिक्षण (क्लोज गेम) मा राखेर राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाका लागि पठाइने जानकारी दिनुभयो ।

खेलकुदले कर्णालीमा मौलिक र साहसिक पर्यटन खेलहरूको समेत सुरुवात गरिसकेको चर्चा गर्दै मन्त्री भण्डारीले खेल क्षेत्रलाई अझ व्यावसायिक रूपमा अगाडि बढाउन खेलाडीहरूको मुख्य भूमिका रहने बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै उहाँले सुर्खेतमै चाँडै १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता समेत आयोजना हुन लागेको महत्वपूर्ण जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो दिन आज भएका खेलहरूमा एथ्लेटिक्सतर्फ कालिकोट र उसुतर्फ आयोजक सुर्खेत जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै बर्चस्व कायम गरेका छन् ।

एथ्लेटिक्सको १५ सय मिटर दौड अन्तर्गत छात्रतर्फ कालिकोटका अनिल शाही प्रथम, जुम्लाका युवराज बुढा द्वितीय र सुर्खेतका भुवन चालिसे तृतीय हुन सफल भए भने छात्रातर्फ कालिकोटकी स्वस्तिका कठायत प्रथम, कालिकोटकै सपना शाही द्वितीय र जुम्लाकी संगिता कुमारी बुढाले तृतीय स्थान हासिल गरे ।

त्यसैगरी उसु खेलका विभिन्न विधामा सुर्खेतका खेलाडीहरूले क्लिन स्वीप गरेका छन् । उसुको छाङ छ्वानतर्फ छात्रमा भुपेन्द्र बुढा र छात्रामा सुनिता कुँवर प्रथम भए । नान छ्वानतर्फ छात्रमा तुफान कुँवर र छात्रामा सन्ध्या राना क्षेत्रीले स्वर्ण पदक जिते भने थाईची छ्वानतर्फ छात्रमा करण चौधरी र छात्रामा इभान्जेलिना कुँवर मगरले प्रथम स्थान हासिल गर्न सफल भए । आगामी पर्सिसम्म सञ्चालन हुने यस प्रतियोगितामा कर्णालीका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूले अन्य विभिन्न खेल विधाहरूमा आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।