
काठमाडौं । भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारकाअनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई सूचना दिन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो ।
यो तालमा पानीको मात्रा बढ्दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो ।
पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदानप्रदानलाई तीव्र बनाएको छ ।
ताल फुटेपछि त्यसबाट निस्कने पानी, गेग्रान र ढुंगामाटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।
यसअघि अस्ति बुधबार भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राकृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययनले देखाएको थियो ।




खबर बजार । १२ भाद्र २०८३, शुक्रबार १४:१४