प्रतिनिधि सभामा महान्यायाधिवक्ता र अख्तियारक‍ो प्रतिवेदन पेश हुँदै 

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक आज बस्ने भएको छ । संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे ।

बैठकमा वार्षिक प्रतिवेदन पेशदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई वटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेकाे हाे । मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्नुहुने भएकाे छ ।

व्यवस्थापन कार्य अन्तर्गत बुधबार विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि लगिने भएकाे हाे । कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक सदनमा पेश गर्नुहुने भएकाे छ । साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उहाँले नै पेश गर्नुहुने भएकाे हाे ।

साथै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएकाे हाे ।