f राउटे समुदायमा पोषण लेखाजोखा र भत्ता वितरण

राउटे समुदायमा पोषण लेखाजोखा र भत्ता वितरण

सुर्खेत । फिरन्ते जीवन विताइरहेका दैलेखको गुराँस गाउँपालिका, ८ नम्बर वडाका बासिन्दा राउटे बालबालिकामा पोषणको अवस्था जाँच गरिएको छ ।

राउटे समुदायका ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण जाँच गर्नुका साथै गर्भवती तथा स्तनपान गराउने आमाहरूका लागि पोषण लेखाजोखा अभियान सञ्चालन गरिएको हो ।

केयर नेपाल, आइडिइ र एभरेष्ट क्लवसँगको सहकार्यमा गुराँस गाउँपालिकाको स्वास्थ्य शाखाले बालबालिकाको पोषण जाँच गरेको हो ।

स्वास्थ्य संस्थाहरुमध्ये ८ नम्बरस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, धरमपोखरा र २ नम्बर वडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, पुरैनीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नेगरि गुराँस गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभएको छ ।

जाँच गर्न आएका कुनै पनि बालबालिकामा कुपोषण नभेटिएको स्वास्थ्य शाखा प्रमुख नारायण विसीले बताउनुभयो ।

साथै, गुराँस गाउँपालिका सरकारले राउटे बस्तिमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पञ्जिकरण शाखाले दिएको जानकारीअनुसार एक सय ३० जनालाई १२ हजारको दरले र ३ जनालाई ४ हजारको दरले भत्ता प्रदान गरिएको छ ।

प्रत्येक त्रैमासिकमा भत्ता वितरण गर्ने गरिएको र यसपटक जम्मा १५ लाख ७२ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता निकाशा भएको गुराँस गाउँपालिकाको लेखा प्रशासन शाखा प्रमुख दिपक केसीको भनाइ छ ।

पोषण लेखाजोखा कार्यक्रम र सामाजिक सुरक्षा भत्ता वितरण दुबै कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, उपाध्यक्ष शिवाकुमारी खड्का, ८ नम्बर वडा अध्यक्ष दीपेन्द्र ओलीलगायतको उपस्थिति थियोे ।

यसैबीच, वडादशैँको अवसरमा राउटे समुदायको लागि सिम्ता गाउँपालिकाले खसी प्रदान गरेको छ । राउटे समुदाय हाल सिम्ता गाउँपालिकास्थित गोलेखोलामा बसोबास गरिरहेका छन् ।

सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दको उपस्थितिमा खसी प्रदान गरिएको हो ।