
काठमाडौं । नेपाल र भारतबीच प्रहरी अनुसन्धान तथा प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, स्याटेलाइट सञ्चार र स्वास्थ्यसहित आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ताका क्रममा विभिन्न आठ विषयमा समझदारी गरिएको हो ।
यी हुन् नेपाल-भारतबीच भएका आठ समझदारी
१. फरेन्सिक विज्ञानमा अनुसन्धान तथा अध्ययन : भारतको गुजरात राज्यको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ।
२. प्रहरी जनशक्ति प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका क्षेत्रमा संस्थागत सहकार्य गर्ने सहमति भएको छ।
३. सरकारी अधिकारीहरूको क्षमता विकास : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने समझदारी गरिएको छ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेदसहित विभिन्न परम्परागत उपचार प्रणालीका क्षेत्रमा नेपाल र भारतले संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।
५. स्याटेलाइट सञ्चार प्रणाली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि सञ्चार नेटवर्क निर्माण गर्ने समझदारी भएको छ।
६. दिगो सहरी विकास : सहरी विकासका कार्यक्रमलाई दिगो बनाउने उद्देश्यले दुवै देशबीच प्राविधिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ।
७. स्वास्थ्य सेवा तथा चिकित्सा : स्वास्थ्य सेवा र चिकित्सा क्षेत्रका गतिविधिमा नेपाल र भारतले आपसी सहकार्य गर्ने समझदारी गरेका छन्।
८. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकासका लागि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।
यी समझदारीहरूले सुरक्षा तथा प्रशासनिक प्रशिक्षणदेखि स्वास्थ्य, सञ्चार प्रविधि, सहरी व्यवस्थापन र पशुपालनसम्मका क्षेत्रलाई समेटेका छन्।




