
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८.५७ अङ्कले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । नेप्से हिजो १० अङ्कले घटेको थियो ।

आज बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज २०३ वटा कम्पनीको शेयर घटेकोमा ५८ वटाको बढेको छ । १८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सोपान फर्मास्युटिकल्सको शेयर झन्डै साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एनआईसी एशिया बैंकको शेयर ६ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ४८ करोडको शेयर कारोबार भएकोमा आज ३५३ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ४ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।




