एसएमएस फ्रेन्डसिप कपः नेपाल बरोडासँग ३७ रनले पराजित

काठमाडौं । नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग ३७ रनले पराजित भएको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भयो ।

नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादव १७, कुशल मल्ल ३, करण केसी शून्य, दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १–१ रनमा आउट भए ।

बरोडाका ध्रुव पटेलले ३.५ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । लक्षित तोक्सियाले ३, जय अभले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बरोडाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । बरोडाका ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्कासहित २९, शश्वात रावत ३१ र मोहित मोगिंआले २२ रन बनाए ।

नेपालका करण केसी र गुलशन झाले २–२ विकेट लिए । आकाश चन्द, प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्नेछ ।