अन्तरपालिका समन्वय बैठकबाट बाह्र बुँदे “रानीमत्ता घोषणा पत्र-२०८१” जारी (विस्तृतमा)

दैलेख । गुराँस गाउँपालिका सरकारले आयोजना गरेको प्रथम अन्तरपालिका समन्वय बैठकले १२ बुँदे “रानीमत्ता घोषणा पत्र-२०८१” जारी गरेको छ ।

गुराँस गाउँपालिका सरकारका अध्यक्ष टोपबहादुर बिसीको अध्यक्षता र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले गुराँस र गुराँससँग सीमाना जोडिएका स्थानीय तहका आपसी हित, विकास निर्माणका साथै अन्य साझा सवालमा १२ बुँदे घोषणा गरेको हो ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २६ मा भएको व्यवस्था बमोजिम स्थानीय तह समन्वयात्मक बैठकमा गुराँसका उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्य, दैलेखको डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसी, उपाध्यक्ष कलावति न्यौपानेसहित वडा अध्यक्षहरु, सुर्खेतका चिङ्गाड गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीसहित वडा अध्यक्षहरु र बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी लगायतको उपस्थिति थियो ।

गुराँस गाउँपालिकासँग सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, चिङगाड गाउँपालिका, दैलेखका दुल्लु नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, अछामको तुर्माखाद गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाको सीमा जोडिएको छ ।

यसपछिको समन्वय बैठक डुङ्गेश्वर गाउँपालिकाले आयोजना गर्ने घोषणा गरिएको गुराँस गाउँपालिकाका सूचना अधिकारी दिनेश दाहालले जानकारी दिनुभयो ।

यी हुन् घोषणा पत्रमा समावेश भएका बाह्र बुँदाः

  • साझा सरोकारका विषय तथा समस्या उपर छलफल गर्न गुराँस गाउँपालिकाले आयोजना गरेको समन्वय बैठक प्रति सम्पुर्ण सहभागी पालिकाको तर्फबाट हार्दिक धन्यवाद दिने र यसलाई निरन्तरता दिँदै आगामी बैठक नियमित रुपमा हरेक पालिकाले आलोपालो आयोजना गर्ने घोषणा गरियो ।
  • अन्तर पालिका सिमा तथा साँध व्यवस्थापन र समस्या समाधान गर्ने तथा नयाँ समस्या सिर्जना हुन नदिनका लागि सिमा क्षेत्र पहिचान, रेखांकन, सिमा गेट निर्माण तथा नक्सांकनका लागि साझेदारी / समझदारी कायम गर्ने घोषणा गरियो ।
  • पर्यटकीय सम्भावनाहरुको अध्ययन तथा विकास मार्फत साझा पर्यटकीय गन्तब्यको विकासका लागि बजेटगत तथा नीतिगत पहल गर्दै रोजगारी सृजनामा विषेश ध्यान दिने/ गुराँसे बजार, रानीमत्तालाई केन्द्रविन्दु मानी पर्यटकीय सर्किट विकास गर्ने घोषणा गरियो ।
  • सडक पुर्वाधारअन्तर्गत साझा क्षेत्रमा पर्ने सडक तथा पुलहरुको निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच लागत साझेदारीका मार्फत कार्यान्वयनको लागि संयुक्त पहल गर्ने / सम्बन्धित निकायहरुमा साझा ज्ञापनपत्रदिने घोषणा गरियो ।
  • पालिका स्तरीय यातायात सञ्जालको विकास मार्फत् स्थानीय नागरिकहरुलाई सहज आवत–जावतको व्यवस्था गर्ने र साझा नगर बस तथा यातायात सेवाका लागि आवश्यक समन्वय, साझेदारी तथा पहल गर्ने घोषणा गरियो ।
  • सहकारी, संघ, संस्था, विकास साझेदारहरुको नियमन, व्यवस्थापन तथा विकासका लागि साझा प्रयत्न तथा संवाद थालनी गर्ने घोषणा गरियो ।
  • गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि साझा पाठ्यक्रम विकास लगायतका नीतिगत व्यवस्था गर्दै विद्यालय मर्जर प्रोत्साहन, पढ्दै कमाउँदै कार्यक्रममा साझेदारी तथा एक पालिका एक प्राविधिक शिक्षाको अवधारणालाई अनुशरण गर्नुका साथै उच्च शैक्षिक संस्थाको संचालनका लागि आवश्यक समन्वय गर्ने घोषणा गरियो ।
  • श्रोत साधनको अभावलाई मध्यनजर गर्दै सबै पालिकाले एकै प्रकृतिका यान्त्रिक उपकरणमा लगानी गर्नुको सट्टा साझा उपयोग हुने गरी यान्त्रिक उपकरण, कृषि बजार र अन्य मेला, जात्रा, हाटबजार, चौपाया बजार व्यवस्थापन गर्ने घोषणा गरियो .
  • अन्तर पालिका स्तरमा रहेका राजश्वका श्रोतहरुको पहिचान तथा उपयोग मार्फत आन्तरिक आयवृद्धि गर्न एकिकृत साझेदारी कायम गर्ने घोषणा गरियो ।
  • अन्तर पालिका विपद् व्यवस्थापनका लागि अन्तरपालिका विपद वस्थाव्यपन संयन्त्रको विकास गर्ने घोषणा गरियो ।
  • हरेक पालिकाले आफ्ना पालिकामा भएका असल अभ्यास र सिकाई एवम् निर्मित ऐन कानूनको आदान प्रदान गर्ने घोषणा गरियो ।
  • आगामी दिनमा यस प्रकारका बैठकहरु कम्तिमा पनि वर्षको १ पटक आयोजना गर्ने र यस पश्चात अन्तरपालिका समन्वय बैठकको आयोजना डुङ्गेश्वर गाउँपालिकाले गर्ने घोषणा गरियो ।

                            मितिः २०८१/०६/२२

               गुराँस गाउँपालिका, रानीमत्ता, दैलेख ।