
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीमा फसेकाहरुको खोज तथा उद्धार कार्य जारी छ । अहिलेसम्म १३ हजार ३९६ जनाको उद्धार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उद्धार गरिएकामध्ये तीन हजार ५३३ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । एक हजार ३५७ जनाको शव भेटिएको छ । तीमध्ये ९८ वटा शव सनाखतपछि आफन्तलाई बुझाइएको छ ।
अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट दुई हजार ८६० र नुवाकोटबाट एक हजार ९८१ जना छन् ।
बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् । प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनालगायतका कामलाई तिब्र पारेको प्राधिकरणले जनाएको छ ।




खबर बजार । २४ भाद्र २०८३, बुधबार १२:०८