स्थानीय निर्वाचनबारे ‘विप्लव’को नेकपामा विवाद, को सँग होला तालमेल ?

कपिलबस्तु । स्थानीय तह निर्वाचनमा सहभागि हुने कि बहिस्कार गर्ने भन्ने विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना भएको छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले निर्वाचन उपयोगबारे प्रस्ताव गरे पनि प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन ।

पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवले राखेको प्रस्तावको पक्षमा प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ मात्रै उभिनुभयो भने सचिवालय सदस्य धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ यसको विपक्षमा थिए ।

अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बस्नुभएको छ । पार्टीमा विप्लव र प्रवक्ता प्रकाण्डको पडक भएकाले केन्द्रीय समिति बैठकले निर्वाचन उपयोगको नीति लिने अनुमान गरिएको छ ।

निर्वाचनमा जानुपर्नेमा विप्लव र प्रकाण्ड एकमत रहे पनि कोसँग मिलेर जाने भन्नेमा उनीहरुबीचमै मतभिन्नता छ । विश्वकर्मा एमालेसँग तालमेल गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने विप्लव खुलिसक्नुभएको छैन ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादीसँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने ठानिएको छ ।

विवाद समाधान र एउटा निष्कर्षमा पुग्न कपिलवस्तुको शिवगढीमा शुक्रवार केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता प्रकाण्डले बताउनुभयो ।

अघिल्लो स्थानीय तह निर्वाचन विप्लव समूहले बहिस्कार गरेको थियो ।