
काठमाडौं । नेपाल आयल निगमले घरेलु बजारमा पनि इन्धन (तेल र ग्याँस) को मूल्य बढाएको छ ।
निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यो नयाँ मूल्य दर सोमबार (२०८२/१२/०२ गते) बिहानदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।
मध्यपूर्व र पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि मूल्यवृद्धि भएको निगमको दावी छ ।
यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने बित्तिकै नेपालमा पनि तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
खाना पकाउने ग्याँसको मूल्य ?
आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको कारणले मुल्य वृद्धि गरेकोले खाना पकाउने ग्यासको मूल्यमा बढोत्तरी भएको छ ।
पहिले प्रति सिलिण्डर १९१० मा पाइने एलपी ग्यासको मूल्य अब एकै पटक २१६ ले बढेर २१२६ पुगेको छ ।
बजारमा ग्यासको आपूर्तिमा नै कठिनाइ भइरहेको यो संवेदनशील समयमा निगमले पुरानो ऋण र इण्डियन आयल कर्पोरेशनलाई बुझाउनुपर्ने अर्बौंको बक्यौताको देखाउँदै यो मूल्य वृद्धि थोपरेको हो ।
विगतमा २४ अर्ब भुक्तानी बाँकी रहँदा आपूर्ति प्रणाली नै अस्तव्यस्त भएको थियो ।
मूल्य समायोजन नगरे ग्यासको हाहाकार झन् बढ्ने र आपूर्ति नै ठप्प हुन सक्ने भन्दै बढाएको हो ।





खबर बजार । २ चैत्र २०८२, सोमबार ००:०१