
काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिस प्रक्रियालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित पहिलो पटक खुला आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई आगामी जुन ५ भित्र आवेदन पेस गर्न आग्रह गरेको हो ।

मन्त्रालयले आवेदन प्रक्रियासँगै आवश्यक योग्यता, अनुभव तथा कार्यक्षेत्रसम्बन्धी मापदण्ड समेटिएको निर्देशिकासमेत सार्वजनिक गरेको जनाएको छ । जारी मापदण्डअनुसार राजदूत पदका लागि उम्मेदवारको न्यूनतम उमेर ३५ वर्ष पुगेको हुनुपर्नेछ भने कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । उच्च शैक्षिक योग्यता तथा सम्बन्धित क्षेत्रमा हासिल गरेको अनुभवलाई थप योग्यताका रूपमा मूल्यांकन गरिने उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट मन्त्रालयले गर्नेछ । त्यसपछि योग्य ठहरिएका नाम मन्त्रिपरिषदमा सिफारिसका लागि पठाइनेछन् । मन्त्रिपरिषद्ले आवश्यक मूल्यांक्नपछि राजदूतका लागि नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।
सिफारिस भएका व्यक्तिहरूले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् । नियुक्तिपछि सम्बन्धित राजदूतले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ ।
यो प्रक्रिया मन्त्रिपरिषद्बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ तथा त्यसमा भएका २०७८ र २०७९ सालका संशोधनअनुसार अघि बढाइएको मन्त्रालयले जनाएको छ ।












खबर बजार । १४ जेष्ठ २०८३, बिहीबार २१:४०