चौरजहारी नगरपालिकामा लगाइएको धानमा खपटे किराको प्रकोप

रुकुम पश्चिम । रुकुम पश्चिममा चौरजहारी नगरपालिका–११, १२ र १३ नम्बर वडामा लगाइएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ ।
एक हप्तादेखि फैलिएको खपटेकिराले धान बालीमा ठूलो क्षति पुर्‍याएपछि खाद्यान्न अभाव हुने भन्दै किसान चिन्तित बनेका छन् ।
कृषि विकास कार्यालयका अनुसार जिल्लामा पहिलो पटक काँडेदार खपटेकिराको प्रकोप देखिएको हो ।
जिल्ला बाहिरबाट ल्याइएको धानको बीउबाट किरा भित्रिएको कार्यालयको अनुमान छ । नगरपालिकाले कृषकहरूलाई ‘साँवा मन्सुली’ जातको धानको बीउ वितरण गरेको थियो ।
करिब ३० हेक्टर क्षेत्रफलमा रोपिएको धानमा खपटेकिराले क्षति गरिरहेको कार्यालयका अर्गानिक मिसन कार्यक्रमका अधिकृत विजय ओलीले बताउनुभयो  ।
बच्चा किराले ८–१० दिनसम्म र वयस्कले १५–१६ दिनसम्म धानबालीमा क्षति पुर्‍याउने उहाँको भनाइ छ ।