१३ थरी पिज्जाको स्वाद मिल्ने पिज्जा ओलिभ

सुर्खेत । सुर्खेती समाजमा मोःमोः चाउमिनपछि पछिल्लो समयमा खाजाका रुपमा स्थान बनाउँदै गएको खान्की हो पिज्जा । खासगरी साना केटाकेटीदेखि युवायुवतीले पछिल्लो समय बढि रुचाउने मेन्यूमा पर्ने मुख्य परिकार नै यहि बनेको छ ।

पिज्जाको कुरा गर्दा सुर्खेतमा एउटा रेष्टुरेण्ट छ जसको नाम नै पिज्जाको नामबाट राखिएको छ, अर्थात पिज्जा ओलिभ रेष्टुरेण्ट । नामअनुसारकै विशेषता नै पिज्जा भएपछि पिज्जा पारखी खासगरी युवापुस्ताको भिड जम्छ यो रेष्टुरेण्टमा ।

बेलाबेलामा परिवारसंगै आउने र साथीभाईसंग पनि आउने ग्राहको संख्या पनि उत्तिकै छ । पिज्जा खानकै लागि पिज्जा ओलिभमा जान सकिन्छ । यो रेष्टुरेण्टमा खासगरी पिज्जा पारखीका लागि उपयुक्त गन्तव्य हुनसक्छ । किनभने यहाँ १३ थरीका पिज्जाको स्वाद लिन पाइन्छ ।भेज तथा ननभेजका विभिन्न फ्लेवरमा ब्ल्याकवाटर पिज्जा, सुप्रिम पिज्जा, हवाईन पिज्जा, मिट लभर पिज्जा, भेज लभर पिज्जा, पाईजाना पिज्जा, फायर अनलिप्स पिज्जा जस्ता अनेक स्वाद र फ्लेबरका पिज्जा पाइन्छ, पिज्जा ओलिभमा ।

सुर्खेतका दिलबहादुर ओलीले करिब ६ महिना अगाडि १ करोड बढिको लगानी गरेर यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । आफ्नो जीवनको २१ वर्ष भारतमा बिताएका ओलीले विशेष गरी अन्तर्राष्ट्रिय चेन विजनेश भएको पिज्जा हटमै काम गरेको बताए ।

वर्षौ यहि काममा बिताएकाले आफ्नै ठाउँमा फर्किएर आफ्नै व्यवसाय सञ्चालन गर्न आँट गरेको उनले बताए । रेष्टुरेण्टको नाम जुराउने काममा भने उनले रमाइलो जुक्ति लगाए । आफ्नो थर ओली भएकाले पनि रेष्टुरेण्टको नाम पिज्जा ओलीभ राखेको उनले सुनाए ।

भारतबाट नेपाल फर्किएपछि ओलीले पहिला टायल मार्बलको हार्डवेयर पसल खोले र अहिले सुर्खेतमा न्यू सुर्खेत सप्लायर्स अनि पिज्जा ओलिभ गरेर २ वटा व्यवसाय सञ्चालन गरिरहेका छन् । शुरु शुरुमा दैनिक ८० देखि ९० हजार सम्मको व्यापार हुने गरेपनि अहिले यो संख्यामा कमी आएको छ ।सुर्खेतको अति व्यस्त मानिने यरीचोक नजिकै जुम्लारोडको दक्षिणपट्टी रहेका कारण सडक छेउछाउमा सामान ढुवानी तथा लोडअनलोड गर्ने ठूला गाडीले बाटो छेकिदिंदा सोचेजस्तो व्यापार हुन नसकिरहेको उनको गुनासो छ ।

यो संगै रेष्टुरेण्टबाट निस्किने फोहोरमैलाको व्यवस्थापनमा पनि समस्या भएको उनको भनाई छ । व्यवसायको तर्फबाट मासिक २ हजार नगरपालिकालाई बुझाउँदा पनि फोहोर लिन नआउने जस्ता समस्याले अर्को समस्या पारेको उनले बताए । पिज्जा ओलिभमा वर्थडे, एनिभर्सरी सेलिब्रेशन गर्नका लागी २० देखि २५ जना अट्ने हल पनि रहेको सन्चालकले जानकारी दिए ।