काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ ।
अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।
प्रहरीले सात दिनको म्याद मागेको थियो । तर अदालतले थप चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौं जानकारी दिएको छ ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।
खबर बजार । २ कार्तिक २०७९, बुधबार १३:३३