सन्दीप लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरीको अनुसन्धान सकिएको छ ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ ।

प्रहरी प्रतिवेदनमा नाबालिग बलात्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पीडितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।

एक नाबालिगले सन्दीपमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

सो होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् ।

पीडित किशोरी अहिले माइती नेपालको संरक्षणमा छन् ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई बलात्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पीडित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।

सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बयान, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।

एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”

सन्दीपले सरकारी वकिलको कार्यालयमा र प्रहरीलाई दिएको साबितीमा आफूले एक क्रिकेट खेलाडीमार्फत आफूलाई आरोप लगाउने किशोरीलाई चिनेको बताएका छन् । उनले आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौनजन्य कार्य नगरेको जिकिर गरेका छन् ।

त्यसबाहेक सन्दीप र उनका कानुन व्यवसायीले पीडित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ । एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पीडितको उमेर अहिले १७ वर्ष छ ।