
सुर्खेत । कणाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणतीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं युएनडिपी र सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा आज आयोजित कार्यक्रममा मस्यौदामाथि छलफल भएको हो ।
छलफलको क्रममा युएनडिपीका परामर्शदाता तथा विपद जोखिम न्यूनीकरण विज्ञ टिबेन्द्र बास्कोटाले विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिसम्बन्धी मस्यौदाको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै विज्ञ बास्कोटाले विपद् जोखिमबाट सुरक्षित, जलवायु अनुकुलित र उत्थानशील तथा समृद्ध प्रदेश निर्माणको लागि सोच, नीति र रणनीति अनिवार्य शर्त भएकोमा जोड दिनुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले मस्यौदाको कार्यपत्र प्रस्तोता विपद् जोखिम न्यूनीकण विज्ञ बास्कोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि, नीति, प्रावधान र विशेषता समेटेको बताउनुभयो ।
उहाँले आज प्रस्तुत गर्नुभएको विपद् जोखिम कार्ययोजनाको मस्यौदालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने जनाउनुभयो । यसका लागि भने लेखेर मन्त्रालयमा प्रतिवेदन दिन सहयोगी निकाय युएनडिपीलाई सचिव भुसालले निर्देशन दिनुभयो ।

खबर बजार । १५ बैशाख २०७९, बिहीबार १३:५०