काठमाण्डौ – प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्दा निष्कासित शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याउने कानुन कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चित गरेको हो ।
अब कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि १५ दिनको अवधि तोकेर वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्रस्ताव आह्वान गर्नुपर्नेछ । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओ भर्दा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खाताबाट मात्रै भुक्तानी गर्न पाइनेछ । यो खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको देशबाट जम्मा गरेको हुनुपर्नेछ ।
विदेशबाटै आईपीओ भर्नका लागि आस्वा सदस्य बैंक अथवा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सम्बन्धित व्यक्तिलाई सीआरएन नम्बर उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । यसले गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंक खाता बढ्ने, खातामा पैसा बचत हुने र फजुल खर्च कम हुने सरकारको अपेक्षा छ ।
खबर बजार । १७ कार्तिक २०७९, बिहीबार १६:५०