भूकम्प पीडितको राहत तथा उद्धारका लागि लाख रुपैयाँ सहयोग गर्ने नेकपा एमाले डोटीको घोषणा

डोटी । नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गर्नु भएको हो । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेट्नु भएको मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिनु भयो । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताउनु भएको छ ।

‘अन्त्यन्तै पीडादायी घटना भएको छ, यति बेला सबैले मानवीय संवेदना देखाउनु पर्छ’ डोटी प्रदेश सभा क्षेत्र “क” का लागि उम्मेदवार समेत रहनु भएका अध्यक्ष मल्लले भन्नु भयो, ‘सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न म आग्रह गर्दछु ।’ पार्टीले गर्ने सहयोगको विषयमा आफूले आधिकारिक रुपमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको समेत उहांले बताउनु भयो ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उहांहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।