

सल्यान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सब डिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकी सहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुढाथोकी लगायत ६ जनाले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी ३, सल्यानका अध्यक्ष भीमबहादुर कुँवर, कोषाध्यक्ष जुद्धकुमारी वली र सचिव पुष्पा वली खासु मगर र दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका ४, दाङका सञ्चालक दुर्गाप्रसाद वली रहेका छन् ।
तुलसीपुर पुरन्धारा बोटेचौर सडक खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी–३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूख कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।
अख्तियारले उनीहरूमाथि १ लाख ८७ हजार ८७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवाना माग गरेको छ ।

खबर बजार । २४ माघ २०७९, मंगलवार २०:०२