

सुर्खेत । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेको तथ्यांक रहेको छ ।बाँझो जमिनलाई सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो । कर्णालीमा वर्षेनी खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये ७२ प्रतिशत जमिनमा खेती हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकमा छ । मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतका अनूसार देशको २२ प्रतिशत क्षेत्रफल ओगटेको कर्णाली प्रदेशका ७४ प्रतिशत नागरिक कृषिमा निर्भर छन । दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिनमा तीन लाख ३९ हजार नौ सय नौ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जबकि कर्णालीमा वार्षिक तीन लाख ५८ हजार तीन सय १६ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ ।बाँझो जमिनलाई उपयोग गर्न सरकारले फलफूल, तरकारी खेती लगायतमा जोड दिएको प्रवक्ता कठायतले बताउनुभयो । उहाले भन्नुभयो, “हामीले बाँझो जमिनलाई सदुपयोग गर्न विविभन्न योजना बनाएर काम गरिरहेका छौ । हिमाली जिल्लाहरुमा स्याउ, ओख्खर खेती र पहाडी जिल्लामा सुन्तला, किवी र विभिन्न जातका फलफुल खेतीका लागि कृषकहरुलाई प्रोत्साहित गरिरहेका छौ ।”गरिबी न्यूनीकरण र खाद्यान्न अभाव कम गर्न बाँझो रहेको जग्गा सदुपयोग गर्दै आएको प्रदेश सरकराले जनाएको छ । खेतीयोग्य जमिन बाँझो राखेर खाद्यान्न उत्पादन बढाउन नसकिने भन्दै त्यसका लागि कृषक आकर्षण कार्यक्रम सरकारले ल्याएको उहाँको भनाइ छ । तर बर्षेनी खेतीयोग्य जमिन समेत बाँझिदै गएका छन, भने खाद्यन्न अभाव पनि भइरहन्छ ।

खबर बजार । १६ फाल्गुन २०७९, मंगलवार ०८:५०