भरुवा बन्दुकको छर्रा लागेर एक जनाको घटनास्थलमै मृत्यु

ताप्लेजुङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।