कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

काठमाण्डौ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुभएको छ । आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक÷एक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नौ र राप्रपाका एक जनासहित १० जना सांसदले उहाँको विपक्षमा मतदान गरे ।

नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बन्नुभएका शर्माले प्रदेश सरकारमा रहेको एमाले बाहिरिएपछि विश्वासको मत लिनुपरेको हो । पहिलोपल्ट एमाले र राप्रपासहितको विश्वासको मत लिनुभएका शर्माले राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।