कोशी प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रवेश

काठमाण्डौ । कोशी प्रदेश ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज मङ्गलवार भएको खेलमा मधेस प्रदेशलाई ६२ रनले हराउँदै कोशी फाइनल पुगेको हो ।

कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४३ रनमात्र बनाउन सक्यो । मधेसका लागि सरस्वती कुमारीले सर्वाधिक १० रन बनाइन् । बलिङतर्फ कोशीकी रुबिना क्षेत्री, एलिशा खडिया र निशा शाहले २/२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कोशीका लागि रुबिना क्षेत्रीले ३९ र काजल श्रेष्ठले २२ रन बनाइन् । बलिङतर्फ मधेसकी सन्तोषी चौधरी, अमिरन निशा र अमिशा पटेलले २/२ विकेट लिए ।

अब कोशीले तेस्रो संस्करणको प्रतियोगिताको उपाधिका लागि बिहीवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । एपीएफ ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा रह्यो । कोशी ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।