काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको छ ।
जुन १४ देखि २२ सम्म आयोजना हुने प्रतियोगिता दक्षिण एसियामा भारत र श्रीलंका बाहेक पाँच राष्ट्रको सहभागिता रहनेछ ।
राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित भुटान, पाकिस्तान र बंगलादेशले खेल्नेछन् । प्रतियोगिताको खेलतालिका भने सार्वजनिक भएको छैन ।
प्रतियोगिताका लागि सदिश प्रधानको कप्तानीमा १२ सदस्यीय टोली र अफिसियल गरी १७ जना माल्दिभ्स गएका हुन् ।
प्रधानको कप्तानी रहेको नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।
यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।
नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
खबर बजार । २९ जेष्ठ २०८०, सोमबार १७:१०