साम्राज्ञीविरुद्धको मुद्दामा भुवन केसीको हार

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हार्नु भएको छ । केसीले दायर गरेको मुद्दामाथि बुधबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

भुवनले २०७७ साउन ९ गते साम्राज्ञीविरुद्ध ‘गाली बेइज्जती’को मुद्दा दायर गर्नु भएको थियो ।

त्यसबेला भुवन र साम्राज्ञी सामाजिक सञ्जाल र मिडियामा लामो भनाभन भएपछि विवाद अदालतमा पुगेको थियो । त्यतिबेला चलेको विवादमा साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाउनु भएको थियो । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिनु भएको थियो । बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

त्यतिबेला भुवनले पनि १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध मानहानीको मुद्दा दायर गर्नु भएको थियो ।