एसियाकप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दै

काठमाण्डौ । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टाेलीकाे कप्तानी भने बाबर आजमले गर्नेछन् ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्नेछ ।

एसिया कप भदौ ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ ।

नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेकाे हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।