महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको बिजयी सुरुवात

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् ।

ओपनर एना हमिजा हसिमले २२ बलमा १ चौका सहित १४ रन बनाइन् । मास इलिसाले १४ बलमा १ चौका सहित १० रन बनाइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले ५४ बलमा एक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् ।

सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् । छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।